नेपालमा माटोकलाको अवस्था, सम्भावना तथा चुनौतीहरु

62

–हरि नारायण पण्डित

प्लाष्टिकले जेलिएको आजको मानव जीवन 
खास गरी दोश्रो विश्वयुद्धको अन्तपछि प्लाष्टिक युगको शुरु भयो, त्यसपछि दैनिक प्रयोग हुने सवै खाले घरायसी सामग्रीहरु प्लाष्टिकका बन्न थाले । आज खाना र पेयहरु यिनै प्लाष्टिकको खोलमा पोको पारिन्छ । घर, कार्य क्षेत्र, सवारी साधन सबैतिर प्लाष्टिकको प्रयोग अनिवार्य नै बनेको छ ।

लुगा, पहिरन, चश्मा, दाँत, दन्त मञ्जन, कम्प्युटर, टेलिफोन, थाल, प्लेट, कचौरा, गिलास, खेलौना सवै प्लाष्टिकको नै बन्न थालेको छ । आजको दैनिकीको समिक्षात्मक अवलोकन गर्ने हो भने जीवनको कुनै पक्ष प्लाष्टिकबाट अछुतो भेटिदैन । आजको मानव जीवन प्लाष्टिक बिनाको वैकल्पिक जीवन कल्पना गर्न सक्ने अवस्थामा छैन ।

प्लाष्टिकको प्रयोगले अनपेक्षित वातावरणीय समस्याका साथै साना केटाकेटीमा विविध खाले स्वास्थ्य जन्य समस्या सिर्जना गर्नसक्छ । आजको युगमा प्लाष्टिकलाई विकराल वातावरणीय एवं पर्यावरणीय प्रकोपको रुपमा लिइन्छ ।

प्रायः जसो प्लाष्टिक अनविकरणीय श्रोत दोहन सघन उर्जा प्रविधीको प्रयोग गरी संवेदनशिल पर्यावरणीय प्रणालीमा क्षती पु¥याउने गरी पेट्रोलियम तथा प्राकृतिक ग्याँसको प्रयोगबाट बनाइन्छ । प्लाष्टिकको उत्पादन तथा यसलाई बालेर नष्ट गर्दा यसले हावा, जमिन, जलसतहमा प्रदुषण गराउँछ ।

साथै यसको उत्पादन श्रृँखलामा संलग्न मजदुरहरु विषालु रसायन तथा क्यान्सरजन्य स्वास्थ्य समस्याका जोखिममा पर्दछन । प्लास्टिक प्याकेजीङग जुन सर्वत्र उपयोग भएका छन् मुलतः फोहरमैलाको प्रमुख स्रोतको रुपमा देखा परेको छ ।

जुन जलचर तथा घरपालुवा पशुहरुले यस्ता प्लाष्टिकमा पोका पारी फालेका फोहोर खाना खान पुग्दा घातक परिणाम वेहोर्ने स्थितिमा पुग्ने गर्दछन् ।

प्रशोधित प्लाष्टिकहरु गलेर नजाने किसिमका हुन्छन् । फोहरमैला फाल्ने ठाउँमा प्लाष्टिक थुप्रिदै जान्छन् र वातावरणलाई भौतिक रुपमा प्रदुषित गराउँदछ । आज महानगर, उप/नगर, नगरपालिका तथा अन्य स्थानीय निकायहरुका लागि सहरी फोहरमैला व्यवस्थापनमा प्लाष्टिक टाउको दुखाइको विषय बनिरहेको छ ।

यो समस्या हाम्रो परिवेशमा मात्र सिमीत छैन यो समस्या विश्वव्यापी नै रहेको छ । जसको परिणाम आज विश्वभरीका स्थानीय सरकारहरु प्लाष्टिकको झोलाको प्रयोगमा प्रतिबद्ध लगाउन थालेका छन् ।

प्लाष्टिकका कारण हुने प्रदुषण नाङगो आँखाले मात्र अवलोकन गर्न सकिन्न । अनुसन्धानले प्लाष्टिकका सुक्ष्म कण वातावरणीय वायु, नदि, ताल, आदिमा विश्वव्यापी रुपमा रहेकोे तथ्य सार्वजनिक गरेको छ । जुन स्वास्थ्य जोखिमको सन्दर्भमा पनि यो निकै घातक मानिन्छ ।

प्लाष्टिकले घेरिएको मानव जीवनले मानवलाई प्रकृतिबाट टाढा–टाढा लगि रहेको देखिन्छ । पश्चिमी समाज प्लाष्टिको भयावह पर्यावरणीय एवं मानवीय स्वास्थ्यमा पर्ने संकटको पुर्व आंकलन गरी प्लाष्टिक विनाको वैकल्पिक जीवनबारे सोच्न र जीवन बाँच्ने प्रयास सुरुवात गरेको पाइन्छ  नेपालमा पनि यस्तो सर्वहानिकारक प्लाष्टिको विकल्प खोज्न सकिन्न र ?

विकल्प दिन तयार छ नेपालको कुम्हार समुदाय !
हिन्दुहरुको वर्ण व्यवस्था अनुसार प्राचीन कालदेखि नै समाजका सबै मानिसको लोकव्यवहारका लागि भाँडाकुडाँ बनाउने जिम्मेवारी पाएको जातिलाई सर्व प्रचलित भाषामा कुम्हार भनिएको छ, जसलाई संस्कृतमा कुम्भकार भनिन्छ ।

कुम्भकारहरुलाई पहाडमा  कुमाल/कुमाले भनी सम्बोधन गरिन्छ भने तराई मधेशतिर कुम्हार शब्दले सम्बोधन गरिन्छ । नेपालमा देशव्यापी रुपमा कुम्हार जातिको जनसंख्याको राम्रै उपस्थिति रहेको छ ।

वि.सं २०६८ को जनगणना अनुसार भक्तपुरको नेवार प्रजापतिहरुको बाहेक पहाडी कुमालको जनसंख्या १२११९६ रहेको छ भने तराईको कुम्हारको जनसंख्या ६२३९९ रहेको छ ।

यसरी कुमाल र कुम्हार एवं भक्तपुरको प्रजापतिहरुको सरकारी तथयाङ्कलाई आधार मानेर ती जनसंख्याहरुको योग गर्दा त्यो नेपालको जनसंख्याको लगभग १.५ प्रतिशत हुन आउँछ । त्यस १.५ प्रतिशत नेपाली जनताको प्रमुख पेशा भनेको माटाको भाडाँकुडाँ बनाउनु रहेको छ । र त्यही बेचेर जीविकोपार्जन गर्नुपर्ने अवस्था रहेको छ ।  कुम्हारको जीवन माटो नै हो । माटोबिना कुम्हारको जीवन अपूरो छ ।

नेपालमा माटोकलाको हालको उत्पादन र व्यापारको परिदृश्य
नेपाल कमर्स क्याम्पस काठमाडौंका उपप्राध्यापक डा. प्रकाश श्रेष्ठले मात्र भक्तपुर जिल्लामा गर्नु भएको एक अध्ययन ‘Challenges and scopes of pottery industry in Nepal’(सन् २०१८) को अनुसार अन्तराष्ट्रिय बजारमा नेपालबाट उत्पादित माटाका गुणस्तरीय वस्तुहरुको धेरै माग छ ।

नेपालबाट निर्यात हुने बस्तुहरु मध्ये  सेरामिक्सको हस्तकलाहरुले प्रमुख स्थान ओगटेको देखिन्छ । सरकारी तथ्याङ्कहरुका अनुसार प्रतिबर्ष नेपालबाट एक करोड हाराहारीको सेरामिक्स हस्तकला विदेश निर्यात भईरहेको छ ।

नेपाल हस्तकला महासंघका अनुसार नेपाली सेरामिक्स हस्तकला निर्यात गर्ने देशहरुमा अमेरिका (१०.१ मिलियन, २०१८मा) प्रथम स्थानमा छ । त्यसपछि जर्मनी (२.६ मिलियन, २०१८ मा) र क्यानडा (२.५ मिलियन, २०१८ मा) को स्थान रहेको छ ।

मुर्तिकला र मिथिला भित्तेकला पनि कुम्हारहरुकै परम्परागत पेशा हो । नेपालमा भित्रै हुने विभिन्न चाडपर्व जस्तै सरस्वती पुजा, विश्वकर्मा पुजा, दशैं, लक्ष्मी पुजा, जितिया, आदिमा मुर्तिकलाको राम्रो व्यवसायिक सम्भावना रहेको छ ।

तराईमा विवाह आदि संस्कारको बेला मिथिला भित्तेकलाको व्यापक माग भएको देखिन्छ । अन्तराष्ट्रिय बजारमा पनि आधुनिक मुर्तिकला र मिथिला पेन्टिङको व्यापक माग रहेको पाइन्छ ।

नेपालमा सहज रोजगारी सर्जना गर्न माटोकला उद्योगको रुपमा विकास गर्न प्रचुर सम्भावना छ र सम्भव पनि छ, भएपनि वर्तमान समय र सन्दर्भमा यस बिषयमा सरकारी वा गैर सरकारी स्तरबाट खासै सक्रिय अध्ययन र चासो रहेको देखिन्न । यो क्षेत्र पुरा–पुरा सरकारी वेवास्तामा परेको छ ।

माटोकला उद्योगको विकासका लागि सरकारको सहभागिता
कुम्हारहरुलाई माटोकलाको पेशामा बजार एवं कच्चा पदार्थको अभाव प्रमुख समस्या हो, सुकाउने तथा भण्डारण गर्ने स्थानको अभाव रहेको छ भने प्रविधिको आवश्यता  छ । यसर्थ कुम्हारहरु माटाको भाँडाँकुडा बनाउने पेशाबाट निरुत्साहित हुँदै गईरहेका छन् ।

आफ्नो पुस्तैनी व्यवसाय निरन्तर ओरालो लागी रहेको तर बजारको माग र आवश्यकतामा दिनानुदिन बढी रहेको भएपनि यसप्रति राज्यले ध्यान नदिएकोले कुम्हारहरुको आर्थिक जिवन कष्ट पुर्ण बन्दै गएको छ, धेरै विदेशीन बाध्य भएका छन् ।

नेपालमा कुम्हारहरुको परम्परागत पेशा माटोकलालाई उद्योगको रुपमा विकास गर्न सम्भावना रहेपनि यसलाई बेवास्ता गरेर छोड्नु सरासर गलत हुनेछ । यसलाई उद्योगको रुपमा विकास गर्नतिर सबै पक्ष अग्रसर हुनुपर्दछ । यसका लागि सरकाले पहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

भन्सारमा पनि सहुलियत प्रदान गर्नुपर्ने हुन्छ । अर्को तिर कुम्हारहरुलाई यस उद्योगमा नयाँ नयाँ प्रविधिसँग जोडेर व्यापक प्रशिक्षण दिनु आवश्यक छ । सरकाले स्थानीय निकायहरुलाई यस उद्योगको प्रवद्र्धनमा सक्रिय गराउँदै पर्यटकीय क्षेत्रहरुमा सेरामिक्स प्रदर्शनी कक्षको निमार्ण गर्नु उचित हुनेछ । कच्चा पदार्थको अभावलाई पनि वैज्ञानिक तरिकाबाट व्यवस्थापन गर्नुपर्छ

नयाँ प्रविधिमा जानैपर्छ
अहिले जमाना बदलिएको छ, माटोका धेरै किसिमका वस्तुहरु उत्पादन गर्न सकिन्छ । समयानुसार माटोको भाँडो बनाउने हस्तकलामा आधुनिकीकरण गर्नु आवश्यक छ । परम्परागत प्रविधिमै रमाइरहेकाहरू माटोका भाडाकुँडाभन्दा अरु बनाउनेतर्फ अग्रसर देखिएका छैनन् ।

तराईका कुम्हारहरुमा माटोबाट के–के वस्तु बनाउन सकिन्छ भन्ने चिन्तन नै कम छ । माटोबाट पनि काठ, ढुंगा, बाँसलगायतबाट बन्नेजस्ता सामानहरू बनाउन सकिन्छ । यो कला नै हो त्यसैले यसमा निरन्तर नयाँ प्रयोग र सोचको आवश्यकता छ ।

कुम्हारहरु आधुनिकतामा जान नसक्दा धेरै पेशाकर्मीहरु परम्परागत पेसाबाट विस्थापित हुनु परेको छ । त्यतिमात्रै होइन हिजो बाबुबाजेले जे गरे, माटोका जे सामान बनाए, त्यसैलाई निरन्तरता दिँदा पनि उपलब्धी हात नलाग्दा कुम्हारहरु निराश भएका धेरै उदाहरणहरु समाजमा पाइन्छ ।

हिजो बाबुबाजेले प्रयोग गरेका बडेमानका काठका पांग्रा घुमाएर अहिले गुजारा गर्न सकिने अवस्था छैन । अहिले काठका पांग्रा घुमाउने शक्ति र समय छैन । बिजुली प्रयोग गरेर घुम्ने आधुनिक पांग्रा बजारमा धेरै पाइन्छन् । यसको प्रयोग गरेर कम समयमा नै धेरै उत्पादन लिन सकिन्छ ।

धेरै बल र शक्ति पनि लगाउनु पर्दैन । काठको पांग्रा राख्न धेरै फराकिलो ठाउँ आवश्यक पर्छ तर विद्युतीय पांग्राको लागि कम ठाउँ भए पुग्छ । आफूसँग भएको परम्परागत सीप एवं ज्ञानलाई निखार्दैै र तिखार्दै नयाँ–नयाँ सीप र ज्ञान लिन जरुरी छ । इलम गरेरमात्रै हुँदैन, प्रविधिको प्रयोग गरी कुम्हाहरुले अरुलाई पनि इलम दिन सक्नुपर्छ ।

समस्या आउनेबित्तिकै परम्परागत रूपमा काम गरिरहेकाहरू, कुम्हारहरु हतास हुने र निराश हुने गरेको संस्कार छ ।  पेसा व्यवसाय गर्दा दैनिकजसो बाधा व्यवधान आउँछ नै तर यी बाधा व्यवधान पन्छाएर निरन्तर प्रयास गर्दै अघि बढ्ने हो भने मात्रै सफल हुन सकिन्छ । एकपटक असफल हुँदैमा निराश बन्नु हुँदैन, निरन्तर प्रयास गर्दै जानुपर्छ ।

बजार र माग बुझ्नुपर्छ 
माटोका कलाले दैनिक जीवनमा प्रयोग हुने भाँडाकुँडासँगै घरको भित्री तथा बाहिरी सजावट एवं पर्यटकीय वस्तुहरू बनाउनेतिर नयाँ पुस्ता लागे माटोमै भविष्य सुनिश्चित हुन्छ । युरोपमा देशअनुसार त्यहाँका बासिन्दाको मनपर्ने रङ फरक हुन्छ । देशअनुसार उनीहरूको सजावटको वस्तु पनि फरकफरक हुन्छ ।

अझ विदेशमा चाडपर्व, दिवस, महिनाअनुसार उनीहरूको रुचि, रङ र वस्तु फरकफरक हुन्छन् । यी सबै बुझेर माटो कलालाई आधुनिकता दिन सकिए परम्परागत व्यवसायबाट पनि आफ्नो र आफ्नो पुस्ताको भविष्य सुरक्षित र सुनिश्चित गर्न सकिन्छ ।

युरोपेलीहरू हस्तकलाका सामानले आफ्नो घर र बगैंचा सिंगार्छन् । उनीहरू राम्रा–राम्रा सजावटका हस्तकला जम्मा गर्न रुचाउँछन् । उनीहरूमा एकअर्कालाई उपहार दिने बानी पनि छ । सोही बानीव्यहोरा र रहनसहन अनुसार माटोको हस्तकला उत्पादन गर्दा व्यापारमा सफलता हात लाग्छ । व्यवसाय गर्दा बजारको अध्ययन पहिलो सर्त हुनुपर्छ ।

बजारले नै कुनै पनि उद्योग व्यवसाय वा उत्पादनको भविष्य निर्धारण गर्छ । बजारको मागअनुसार कुम्हारहरुले स्वयंलाई तयार गर्न सकेन र उत्पादन गर्न सकेन भने जिरोमा पुग्ने निश्चित छ । त्यसैले बजारसम्बन्धी सोच विकास गर्नैपर्छ । बजार सँग–सँगै आफ्नो लक्षित वर्गको कला, संस्कृति, रहनसहन पनि माटोका कलाकारले जान्नुपर्ने हुन्छ ।

नयाँ आयामहरुको खोजी
माटोकला एउटा विज्ञान हो । विद्यालय तहदेखि नै यस बिषयको पढाई गराउनु पनि जरुरी छ । यसले सीपमात्रै सिकाउँदैन मानिसलाई एकाग्र, तिक्ष्ण र सिर्जनशील समेत बनाउँछ । जसरी कुमालेले माटोबाट आकार दिएर एउटा वस्तु बनाउँछ, त्यसरी नै माटो कलामा रमाउने व्यक्तिले जीवनमा धेरै कुरा सिक्दछ ।

माटो कलाले साना बालबालिकाको बौद्धिक, मानसिक एवं शारीरिक विकासमा सकारात्मक सहयोग पु¥याउर्दछ ।  विदेशमा स्कुल तहका विद्यार्थीलाई माटोमा चल्न दिइन्छ । यसले बौद्धिक विकास मात्रै हुँदैन, एकाग्रता बढाउँछ । धैर्यवान हुन र मेहनती हुन पनि सिकाउँछ ।

वास्तुशास्त्रको अनुसार पनि माटोलाई महत्वपूर्ण भनिएको छ । माटोको घैलाबाट पानी पिउनु या घरमा माटोको भाँडाकुडाँ राख्नु अत्यन्त लाभदायक मानिन्छ । माटोबाट बनेका चीजहरु सुख, सौभाग्य र समृद्धिको कारक हुन्छ । हरेक व्यक्तिले माटोका निर्मित केही वस्तु आफूसँगै राख्नुपर्दछ ।

यसो गर्दा आपसमा सकारात्मक ऊर्जाको प्रभाव बनी रहन्छ । ज्योतिषशास्त्रको अनुसार जीवनमा सुख, समृद्धि तथा सफलता चाहने व्यक्तिले माटोको केही भाँडा, घैला, ग्लाश, कप, भगवान्को मूर्ति, दियो, खेलौना, आदि आफ्नो घरमा सजाएर राख्नुपर्दछ । 

समग्रमा माटोकलाले मानव जीवनको सामाजिक, आर्थिक, शारीरिक, मानसिक एवं आत्मिक स्वास्थ्यलाई समृद्ध बनाउँदछ । पर्यावरणलाई सन्तुलित राख्न सहयोग गर्दछ । मानव जीवनलाई प्रकृति समिप लैजान्छ ।

मानव समाजलाई व्याक टु नेटर तर्फ डो¥याउँछ । अतः आजको परिवर्तित सन्दर्भमा नेपाल सरकार र सम्पुर्ण कुम्हार समुदाय एकजुट भएर माटोकलाको पुनर्जागरण एवं उत्थानको मार्गमा सचेत रुपमा सक्रिय हुन जरुरी एवं आवश्यक छ । महासचिव, तराई कुम्हार समाज नेपाल (मधेश दर्पण फिचर सेवा)

Facebook Comments

LEAVE A REPLY