सोवा रिग्पा उपचारलाई प्राथमिकता दिइनेछ–राज्यमन्त्री यादव

- May 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ : स्वास्थ्थ राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले शताब्दीऔँअघिदेखि प्रचलनमा रहेको नेपालको मौलिक सोवा रिग्पा उपचार पद्दतिलाई पनि प्राथमिकतामा राख्ने गरी नयाँ स्वास्थ्य नीति ल्याइने बताउनुभएको छ ।

सोवा रिग्पा एशोसिएसन नेपालका अध्यक्ष आम्ची डा. तेन्जीङ धार्के गुरुङ्गद्वारा प्रस्तुत ज्ञापनपत्र बुझ्दै राज्यमन्त्री डा यादवले हिमाली जडीबुटीको प्रयाग गरी उपचार गरिने सोवा रिग्पा नेपालको हिमाली क्षेत्रमा मात्र नभई देशभर नै विस्तार गर्न सकिएमा आम जनतालाई आधारभूत स्वास्थ्य सेवा दिन सकिने भएकाले सरकारले यस्ता वैकल्पिक उपचार पद्दतिको संरक्षण र प्रवद्र्धनमा जोड दिनेछ भन्नुभयो ।

ज्ञापनपत्रमा नेपालको संविधान संशोधन गर्दा धारा ५१ मा स्पष्ट रूपमा आयुर्वेदिक, होमियोवेदिक जस्तै गरी ‘सोवा रिग्पा उपचार पद्धति’ उल्लेख गर्नुपर्ने, हिमाली भेगलगायत ७७ वटै जिल्लाहरूमा जिल्ला सोवा रिग्पा सेवा केन्द्र स्थापना गर्नुपर्ने, सोवा रिग्पा औषधिलाई औषधि व्यवस्था विभागमा दर्ता गरी समावेश गर्नुपर्ने, सोवा रिग्पालाई विकास र विस्तार गर्न सरकारले नेपालका जडीबुटीहरूको अनुसन्धान, सङ्कलन र तिनको प्रशोधन गरी स्वदेशमा नै औषधि उत्पादनमा जोड दिनुपर्ने माग गरिएको छ ।

सोवा रिग्पा इन्टरनेशनल कलेजका कार्यकारी निर्देशकसमेत रहनुभएका अध्यक्ष गुरुङले आजै मन्त्रालयका सचिवद्वय डा पुष्पा चौधरी र रामप्रसाद थपलियालाई पनि भेटी संशोधित स्वास्थ्य ऐन, २०७५ मा सोवा रिग्पा उपचार पद्धतिलाई पनि समावेश गरेकाले हौसला बढाएको बताउँदै छिमेकी मुलुकमा जस्तै नेपालमा पनि सोवा रिग्पा, होमियोवेदिक, प्राकृतिक चिकित्सा, योग, अकुपञ्चर लगायतलाई समेटेर वैकल्पिक वा पुरक मेडिकल काउन्सिल, विभाग, अस्पताल स्थापना गर्न आग्रह गर्नुभयो ।

सोवा रिग्पा प्राथमिक उपचारकहरूको सङ्ख्या अहिलेसम्म ३६० पुगिसकेको र ती उपचारकहरूले दुर्गम क्षेत्रका गुम्बा तथा विहारहरूमा सोवा रिग्पा उपचार गराइरहेको  बताइएको छ । पछिल्लो तथ्याङ्कअनुसार हिमालमा ९० प्रतिशत, पहाडमा ३० देखि ४० प्रतिशत र तराईमा २० प्रतिशत प्रयोगकर्ता छन् । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!