कम्युन बस्तीमा पहिलो पटक सरकारी सेवा र अधिकारी

- May 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

जाजरकोट : कम्युनको अभ्यास गरेर दुनियाँलाई सन्देश दिएको जुनिचाँदे गाउँपालिकामा पहिलो पटक सरकारी अधिकारी गएर बृहत् शिविर सञ्चालन गरिएको छ ।

गाउँपालिकाको प्रशासकीय केन्द्र लुहादह र जुनी बस्तीमा पहिलो पटक बृहत् शिविर सञ्चालन गरिएको हो । प्रजिअ ललितकुमार बस्नेतलगायतको सरकारी टोली लुहादह, जुनिचाँदेलगायतका ठाउँ पुगेर सञ्चालन भएको शिविरमा ६४२ ले नागरिकता लिएका छन् ।

गाउँपालिकाको समन्वय र जिल्ला प्रशासन कार्यालयद्वारा सञ्चालन गरिएको एकीकृत बृहत् घुम्ती शिविरमा नागरिकता वितरण गरिएको हो ।

उक्त एकीकृत घुम्ती शिविरबाट ६५० जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराएका छन् ।  शिविरमा एक हजार ९३६ भेडा÷बाख्रा, २३३ गाई÷गोरु, १६१ भँैसी÷राँगो, १० कुकुर र २५ घोडा–खच्चड गरी जम्मा दुई हजार ३७६ वटा पशुचौपायलाई विभिन्न रोगको खोप लगाइएको छ  ।

त्यस्तै ५०० घरधुरी किसानलाई विभिन्न उन्नत जातको तरकारीको बीउ वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिनुभयो । जिल्ला सदरमुकाम खलङ्गादेखि करीब ३२ कोस टाढाको दूरीमा रहेको जुनिचाँदेको सबै वडामा उक्त शिविर भएको थियो ।

जिल्ला प्रशासन कार्यालयको आयोजना र स्थानीय तहको समन्वयमा यसअघि जाजरकोटको बारेकोट, कुशे, शिवालय र जुनिचाँदे  गाउँपालिकामा बृहत् शिविर भइसकेको छ । चारवटा स्थानीय तहबाट छ हजार ५५९ जनाले नागरिकता र फोटोसहितको मतदाता नामावली सेवा लिएका छन् ।

सदरमुकाबाट मात्र नागरिकता र फोटोसहितको मतदाता नामावलीको सेवा पाएका जाजरकोटका दूरदराजका स्थानीयवासीले घरआँगनमा सेवा पाएपछि खुशी भएको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताउनुभयो । जुनिचाँदेबाट जाजरकोट सदरमुकाम आउन तीन दिन लाग्ने गर्दछ ।

पहिलो पटक गाउँमा पुगेका सरकारी अधिकारीलाई स्थानीयवासीले प्रश्नको ओइरो लगाएका थिए । टेलिफोन, नागरिकता गाउँमा सधैँ पाइने अवस्था कहिले हुन्छ भन्दै प्रश्न गरेका थिए । दैलेखको सिमानासँग जोडिएको जुनिचाँदे गाउँपालिका जिल्लाको दुर्गम स्थानीय तहमा पर्दछ ।

जनयुद्धको समयमा कम्युनको अभ्याससमेत गरेको जुनिचाँदेका स्थानीयवासीले अहिलेसम्म सरकारी अधिकारी गाउँमा पुगेको नदेखेको बताएका छन् । बहुमूल्य जडीबुटी, खानीको भण्डार रहेको यहाँ चोरी–निकासी व्यापक भएको भन्दै प्रजिअ बस्नेतलाई नियन्त्रणका लागि पहल गर्न आग्रहसमेत गरिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!