चौधरी ग्रुपको वाइवाइ चाउचाउ उद्योगबाट निस्कीएको विशालु धुवाँका कारण श्वासप्रस्वासका रोगी बढे

- May 9, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सरकारी निकाय मौन, जनतालाई रोगी बनाएरै भए बिनोद चौधरी विश्वको धनी

रोशन कार्की
काठमाडौं । कम्प्युनिष्टको दुई तिहाई सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी ओलीले देशलाई ‘समृद्ध नेपालख र सुखी नेपाली’ बनाउने नारा दिएपनि भ्रष्ट र अनियमिकता गरी करछली गर्नेमाथी कुनै कारबाही हुन नसक्दा पछिल्लो समयमा जनताहरु त्यसको चपेटामा परेका छन् । सरकारसँग अनुमति लिई वातावरणलाई समेत असर नपर्ने गरी उद्योग सञ्चालन गर्ने शर्तमा स्वीकृति लिएका अधिकांश उद्योग वातावरणलाई नै प्रत्यक्ष रुपमा असर पुग्ने गरी सञ्चालन भएको पाइएको छ । वातावरण र स्थानीय बासिन्दाको स्वास्थ्यसँग खेलबाड गर्दै विश्वको धनीको सूचीमा डलर अर्बपतिको नाम लेखाउन सफल संघीय सभाको सांसद समेत रहेका विनोद चौधरी अध्यक्ष रहेको चौधरी ग्रुपले वाइवाइ चाउचाउ उत्पादन गर्दा खुला रुपमा छोडिएको धूवाँका कारण भैँसेपाटी क्षेत्रमा विभिन्न प्रकारको रोगबाट स्थानीय बासिन्दा ग्रसित भएको खबर प्राप्त भएको समाचार आर्थिक दैनिकले प्रकाशन गरेको छ ।

सो कारखानाबाट अव्यवस्थित रुपमा बाहिर खुला आकाशमा छोडिएको धूवाँको मुँस्लो ‘समृद्ध नेपालख र सुखी नेपाली’ बनाउनका लागि नभएर एउटा व्यक्तिलाई अर्बपति बनाई जनतालाई दुःखी र रोगी बनाउनका लागि भएको स्थानीय बासिन्दाले बताउँदै आएका छन् । ललितपुर जिल्लाको कार्यविनायक नगरपालिका भैँसेपाटीमा रहेको नेपाली कांग्रेसका सांसद विनोद चौधरीले खोलेको वाइवाइ चाउचाउ कारखानाबाट निस्किएको मुँस्लोले भैँसेपाटीबासीलाई मात्रै नभएर सिंगो काठमाडौंलाई समेत प्रदूषित बनाउँदै आएको छ । भैँसेपाटीको मूलसडक छेउमा रहेको वाइवाइ चाउचाउ कारखानाले चाउचाउ तयारी बनाउन धानको भुस प्रयोग गरेर दिनहुँ प्रदूषण बढाइरहँदा सरोकारवालाहरुबाट भने कुनै प्रकारको अनुगमन समेत गरेका छैनन् ।

निर्वाचनका समयमा प्रदूषणमुक्त क्षेत्र बनाउने शपथ खाएकी सांसद पम्फा भुसाल समेत सो भैँसेपाटी वरिपरि भएको प्रदूषणको विषयमा मौन बसेका कारण स्थानीय बासिन्दा दुःखित भएका छन् । कारखानाको नजिकै घर भएका अर्का सांसद जीवन खड्का समेत सो विषयमा कुनै चासो देखाएका छैनन् । सो कारखानाले क्यान्सररुपी धूवाँको मुँस्लो बाहिर फ्याँक्दा समेत सरकारी निकायबाट सो धूवाँ नियन्त्रणका लागि कुनै पहल समेत गरेको पाइएको छैन ।

विश्वका धनी चौधरीको वाइवाइ चाउचाउको कारखानाले जनतालाई क्यान्सरको रोगीका साथै श्वासप्रश्वासको रोगी बनाएको आरोप स्थानीय बासिन्दाको रहेको छ । प्रदूषण बढाउनका लागि चौधरी ग्रुपको वाइवाइ चाउचाउको कारखानाबाट निस्किएको धूवाँका कारण सो क्षेत्रका बासिन्दाहरुमा अत्यधिकमात्रामा श्वासप्रश्वासको रोगले सताएको पाइएको छ ।

सो सम्बन्धमा पटक–पटक चौधरी समूहअन्तर्गतको सीजी फुड्स नेपालमा सम्पर्क गर्दा आधिकारिक व्यक्ति कोही पनि फोनमा बोल्न चाहेनन् । सो कम्पनीले उत्पादन स्वीकृति लिने समयमा वातावरणमाथि कुनै प्रकारको प्रभाव नहुने र वातावरणप्रति सचेत रहेर उद्योग सञ्चालन गर्ने भन्दै पेस गरेको दर्ता कागजमा उल्लेख भए पनि सोहीअनुसार चौधरी ग्रुपले कार्यान्वयन भने गरेको छैन । सो कम्पनीले वातावरणलाई नै बिगार्ने गरी धूवाँको मुँस्लो बाहिर छोडेर आफ्नो उत्पादन गर्दै आएको छ ।

सो सम्बन्धमा स्थानीय सरकार समेत चुप बसेका कारण स्थानीयमाथि मार पर्ने गरेको दुःखेसो पीडितहरुले गरेका छन् । एकातर्फ गुणस्तरहीन चाउचाउ उत्पादन गरेर आम उपभोक्ताहरुको स्वास्थ्यमाथि खेलबाड गर्दै आएको सो कम्पनीले पछिल्लो समयमा खुला रुपमा बाहिर हिँड्न समेत नसकिने गरी उद्योगबाट खुला आकाशमा छोडिएको धूवाँका कारण दैनिक हिँड्डुल गर्न समेत कठिन भएको स्थानीय बासिन्दाहरुको भनाइ रहेको छ ।

ललितपुरको घनाबस्तीबीच रहेको सो उद्योगबाट निस्किने धूवाँले स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेको भन्दै स्थानीय बासिन्दाले पटक–पटक स्थानीय निकायमा गुनासो गर्दा समेत सो समस्या समधान गर्नेतर्फ सरकारले ध्यान दिएको छैन । सो उद्योग क्षेत्रबाट निस्किने धूवाँ र ध्वनि प्रदूषणको वातावरणीय अवस्थाबारे प्रभाव मूल्यांकन समेत सरकारले गरेको छैन । सो उद्योगबाट दैनिक रूपमा निस्किने गरेको धूवाँ र ध्वनि प्रदूषणबाट जनजीवन र वातावरमा प्रतिकूल असर परिरहेको भन्दै तत्काल नियन्त्रणका लागि स्थानीय निकायमा पीडितको तर्फबाट अनुरोध गर्दा समेत कुनै सुनुवाइ नभएको पीडितहरुको भनाइ रहेको छ ।

पछिल्लो समयमा सो धूवाँकै कारण सयौं बिरामी उपचारका लागि अस्पताल आउने गरेको भनाइ अस्पताल प्रशासनले जनाएको छ । सो उद्योगबाट निस्किने धूवाँको मुँस्लो मानव बस्तीमा फैलिने गरेको छ । उद्योगले घना मानवीय बस्तीमा धूवाँको कालो मुँस्लो फाल्दै आएको छ  सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल प्रभाव नपार्ने गरी उद्योग सञ्चालन गर्नुपर्नेमा सो तर्फ चौधरी ग्रुपले कुनै योजना समेत नबनाएको सो कम्पनीमा कार्यरत एक कर्मचारीले गोप्य रुपमा बताए । मानवीय घनाबस्तीमा उद्योगले प्रदूषित धूवाँ फालेपछि नियन्त्रणका लागि उपमहानगरपालिकाले कुनै ताकेता अहिलेसम्म गरेको रेकर्ड स्थानीय निकायमा छैन । सरकारी तवरबाट कुनै पहल नभएपछि रात–दिन सञ्चालन हुने उद्योगले कालो धूवाँको मुँस्लो फालेको भन्दै विरोध हुनथालेको छ ।

उद्योगको स्थापनापछि यस क्षेत्रको उत्पादनमा वृद्धि, आयात, प्रतिस्थापन, रोजगारीको अवसर, सरकारलाई राजस्वको सिर्जना, उद्यमशीलताको विकास प्रचुर मात्रामा भई सर्वसाधारणको आर्थिकस्तरमा अभिवृद्धि गर्नमा सहयोग पुग्ने भन्दै नक्कली विवरण पेस गरेर सो वाइवाइ उद्योग बस्तीको माझमा स्थापना गरेको आरोप स्थानीय बासिन्दाहरुको रहेको छ । सो धूवाँ र धूलोका कर्णका कारण सो जिल्लाका अधिकांश वृद्धवृद्धामा छातीसम्बन्धी रोग देखिएको छ ।

बढ्दो प्रदूषण र धूलो–धूवाँका कारण ज्येष्ठ नागरिकहरुमा छातीसम्बन्धी समस्या बढेको देखिएको अस्पताल प्रशासनको भनाइ छ । बेलाबखत हुने निःशुल्क क्लिनिकमा उपचारका लागि आउनेमध्ये अधिकांशको श्वासप्रश्वासमा समस्या देखिएको तथ्याङ्क रहेको छ । छातीरोग विशेषज्ञका अनुसार धूलो–धूवाँ र प्रदूषणको असरले वृद्धवृद्धामा छातीको संक्रमण बढ्दै गएको बताएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!