ब्रिजकोर्सको नाममा यसरी हुन्छ ठगी : विना स्वीकृति सञ्चालन भएका संस्थाको आफूखुसी शुल्क असुली

- May 5, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । विद्यमान ऐन र कानुनविपरीत राजधानीलगायत देशभरका सहरहरुमा तयारी कक्षा (ब्रिज कोर्स) को नाममा अवैध धन्दा चल्दै आएको छ । एसईई दिएर खाली बसेको समयमा विद्यार्थीलाई अध्यापन गराउने भन्दै राजधानीलगायत अन्य सहरहरुमा यसको व्यापार मौलाउनुका साथै विना दर्ता सञ्चालन हुँदै आउँदा पनि सम्बन्धित निकायबाट कुनै अनुगमन समेत भएको छैन । विभिन्न सञ्चारमाध्याम वा सामाजिक सञ्जालमा आकर्षक विज्ञापन प्रकाशन गरी विद्यार्थीहरुलाई आकर्षित गर्दै यो अवैध व्यापार नियमनविनै सञ्चालित रहेका छन् । यस वर्षको प्रवेशिका परीक्षामा छ लाख १५ हजार पाँच सय ५३ विद्यार्थीले परीक्षा दिएका छन् । तीमध्ये करिब २५ प्रतिशतले राजधानी, जिल्ला सदरमुकामसहित क्षेत्रीय सहरमा ब्रिज कोर्स अध्ययन गर्ने अनुमान रहेको समाचार आर्थिक दैनिकले छापेको छ ।

राजधानी काठमाडौं, ललितपुर र भक्तपुरमा मात्र प्रवेशिकापश्चात् १ लाखभन्दा बढी विद्यार्थीले ब्रिज कोर्स अध्ययन गर्ने गरेको अनुमान रहेको छ । यस्तै राजधानीको पुतलीसडक, बागबजार, जमल, नयाँबानेश्वर, महाराजगञ्ज, पुरानोबानेश्वर, चबहिल, माहाराजगञ्जसहित ललितपुरको लगनखेल, सातदोबाटो, जावलाखेल, पुल्चोक र भक्तपुरका विभिन्न स्थानमा ब्रिज कोर्सका कक्षाहरु विना दर्ता सञ्चालनमा रहेका छन् । यो कोर्सलाई १० र ११ कक्षाबीचको अध्ययनलाई जोड्ने पुलका रुपमा लिइने बताइए पनि सो विषयमा सरकारी निकायमा भने कुनै उल्लेख गरिएको छैन । पछिल्ला दिनमा सञ्चारमाध्यममा सस्तो विज्ञापन गरेर अमर्यादित तरिकाबाट विद्यार्थी तान्ने होडबाजीमा सो सेण्टरहरु लागिपरेका छन् ।

आफूखुसी शुल्क निर्धारण गरेर विद्यार्थी भर्ना लिँदै आएका छन् । यस्ता कक्षा अभिभावक लुट्ने सजिलो उपायको रुपमा लिएको पाइएको छ । यस्ता कक्षाको सञ्चालन गरेर अनियमितता र ब्रह्मलुट नै भएको छ । विगत डेढ दशकदेखि ब्रिज कोर्सको मौसमी व्यापारले राजधानी लगायतका सहरमा निरन्तरता पाएका छन् । राजधानीमा ट्युसन सेन्टर सञ्चालक र शैक्षिक कन्सल्टेन्सीहरुले ब्रिज कोर्स सञ्चालन गर्दै आएका छन् । ब्रिज कोर्स सञ्चालकहरुले प्रवेशिकाको नतिजापश्चात् कलेजहरुमा अनुबन्धित गराउने गरी व्यापार समेत गर्दै आएका छन् । कलेजहरुले पनि ब्रिज कोर्स सञ्चालकहरुसँग समन्वय गरेर विद्यार्थी भर्नाको ठेक्का दिने गरेका छन् । ब्रिज कोर्स सञ्चालकहरुले कलेजहरुसँग विद्यार्थी भर्नाको सौदा पनि गर्ने गरेको पाइएको छ ।

राजधानीका ब्रिज कोर्स सेन्टरहरुले प्याकेज बनाएर अंग्रेजी, गणित, विज्ञान विषयमा अध्यापन गराउँदै आएको भनिए पनि सो केन्द्रभित्र अवैध धन्धा समेत चल्दै आएको स्रोतको दाबी रहेको छ । ब्रिज कोर्षको नाममा मानव तस्करी समेत हुने गरेको आरोप लागेको छ । उनीहरुले ब्रिजकोर्सको नाममा न्यूनतम प्रतिविद्यार्थी ६ देखि १० हजार रुपैयाँ शुल्क असुल्दै आएका छन् भने सो शुल्क असुलीको कुनै पनि बिल दिने गरेका छैनन् । यसरी अवैधरुपमा केही शैक्षिक परामर्शदातृ व्यवसायीले पनि ब्रिज कोर्स कक्षा सञ्चालन गरेको नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले जनाएको छ । ब्रिजकोर्षको व्यवसाय दर्ता सम्बन्धित शिक्षा क्षेत्रभित्र सञ्चालन गर्ने अनुमति लिएको जनाए पनि उनीहरुको रेकर्ड सरकारी कार्यालयमा भेटिँदैन ।

शिक्षा मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका २०६८ मार्फत कन्सल्टेन्सीलाई नियमन गरेको छ । तर उक्त निर्देशिकाले मात्रै नियमन हुन नसक्ने भन्दै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकले परामर्श दिँदै आएका कन्सल्टेन्सीहरुलाई छुट्टै कानुन बनाई नियमन गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । पुतलीसडकमा रहेको नेममा नर्सिङ सेन्टरमा हजारौँ विद्यार्थी अहिले एसईईपछिको समयमा ब्रिजकोर्स गर्दै छन् । नर्सिङ, फार्मेसी, एचए, ओभरसियर आदि पढ्न ब्रिज कोर्समा सो सेन्टरबाट उपलब्ध गराएको भनिए पनि विज्ञापनमा झैँ नभएको दुःखेसो पीडितहरुको रहेको छ । काठमाडौं उपत्यकामा ब्रिज कोर्स गराउने सयौं संस्था छन् र तिनमा हजारौं विद्यार्थी पढिरहेका छन् । त्यस्ता संस्थाहरुमा वार्षिक कति विद्यार्थीले ब्रिजकोर्स गर्छन् भन्ने एकीन तथ्यांक भने कुनै निकायसँग छैन । सहरका घरैपिच्छे खुलेका ब्रिजकोर्स प्रदायक संस्थाहरूका कारण विद्यार्थीलाई अहिले इच्छा नभएर पनि यस्ता कक्षामा सहभागी हुन बाध्य भएका छन् ।

नयाँ बानेश्वरस्थित अल्फाबिटा इन्स्टिच्युटबाट पनि आफूखुसी शुल्य तोकी असुली गरिँदै आएको छ । शिक्षा ऐन ९आठौं संशोधन० २०७३ कार्यान्वयनमा आइसकेको सन्दर्भमा उच्चमाध्यमिक शिक्षा परिषद्को रुपान्तरण भई राष्ट्रिय परीक्षा बोर्ड क्रियाशील भइसकेको छ । एसएलसी ९कक्षा १०० को परीक्षा एवं कक्षा ११ र १२ को परीक्षासम्बन्धी कार्यलाई एकीकृत अवयवको रुपमा राष्ट्रिय परीक्षा बोर्डको क्षेत्राधिकारभित्र आबद्ध गरिएको छ । साथै, कक्षा १० को परीक्षा क्षेत्रीय प्रान्तीय अवधारणा अनुसार सञ्चालनमा ल्याइने र कक्षा ८ को परीक्षालाई समेत व्यवस्थित गर्ने गरी सरकारको तयारीका कारण माध्यमिक शिक्षाभित्र ब्रिजकोर्स आवश्यक नपर्ने गरी पाठ्यक्रम तयार गर्न लागेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

केही समययता कम्प्युटर वा अन्य सीपमूलक तालिम लिने र प्राविधिक शिक्षा एवं व्यावसायिक तालिम परिषद् ९सीटीईभीटी० का कोर्सको तयारी कक्षामा धेरै विद्यार्थीको ध्यान जान थालेको छ । बग्रेल्ती खुलेका ब्रिजकोर्स इन्स्टिच्युटले धेरै विद्यार्थीलाई सजिलोभन्दा अन्योल बनाउँदै आएको छ । निम्स इन्स्टिच्युट, आईसीई इन्स्टिच्युट, इन्टेलजस्ता अधिकांश संस्थाहरुले मासिक करोडौँ रुपैयाँ कर समेत छली गर्दै आएका छन् । नयाँबानेश्वरस्थित अल्फाबिटामा यस वर्षका लागि भन्दै विभिन्न आकर्षक सुविधासहितको भन्दै ब्रिजकोर्सका कक्षा सञ्चालन गरेकोे छ ।

साइन्स, म्यानेजमेन्ट, नर्सिङ तथा ए–लेभलका ब्रिज कोर्स कक्षाहरू हुने भन्दै गरेको सो सूचनासँगै त्यहाँ अध्ययन गर्न जाने विद्यार्थीका अभिभावकहरु ठगिन पुगेका छन् ।अल्फाबिटाले ब्रिजकोर्समा प्रदान गर्ने तयारी कक्षाका साथै विभिन्न क्षेत्रमा सफल व्यक्तित्वहरूद्वारा प्रदान गरिने करियर काउन्सिलिङ गरिरहेको बताए पनि सोहीअनुसार नभएको पीडित विद्यार्थीहरुको गुनासो रहेको छ । सो कोर्स अध्ययन गरेका एक विद्यार्थीले नाम नलेख्ने शर्तमा भने, ‘सुरुमा राम्रासँग पढाइन्छ तर पछिपछि खासै पढाइ हुँदैन, भनेमा उल्टो झपार्ने गरेका छन् ।’

अल्फाबिटाले ब्रिजकोर्स भनेको सेन्ट जेभियर्स, बूढानीलकण्ठ, एसओएस, ट्रिनिटी, हिमालयन ह्वाइट, नामी, ब्रिटिस कलेज, केएमसी, गोल्डेनगेट जस्ता कलेजको नमूना प्रश्नहरूमा आधारित साप्ताहिक परीक्षाका साथै आफ्नो अतिरिक्त क्रियाकलापमा रहेको प्रतिभा प्रस्तुत गर्ने प्लेटफार्म हो भन्दै विद्यार्थीसँग आफूखुशी महंगो शुल्क असुल्दै आएको छ । यसरी आफूखुसी कक्षा सञ्चालन गरेर मासिक रुपमा देशभर चलेका ब्रिजकोर्स सञ्चालकबाट न्यूनतम ४० करोडभन्दा बढी राजस्व करछली हुँदै आएको समेत अनुमान गरिएको छ । सो कोर्स सञ्चालकहरुले के कति शुल्क असुली गरेका छन् भन्नेबारे समेत गोप्य राखेका छन् भने उनीहरुको मासिक विवरण समेत सरकारी निकायमा बुझाएको पाइएको छैन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!