चौधरी ग्रुपको भगिनी संस्था सिजी प्रपर्टिजको नाममा सरकारी जग्गा अतिक्रमण

- April 28, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्लटिङका लागि सार्वजनिक जग्गामा लगाएको बार स्थानीयले भत्काए

रोशन कार्की
काठमाडौं । शक्ति र पैसाको आडमा सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिगत बनाउँदै जग्गा प्लटिङ गर्न थालेपछि ललितपुरमा स्थानीयले विरोध गरेका छन् । ललितपुर जिल्लाको धापाखेलस्थित चौधरी ग्रुपअन्तर्गतको सीजी प्रपर्टिजले सार्वजनिक जग्गामा अतिक्रमण गरेर बार लगाएको भन्दै स्थानीय बासिन्दाले गत बुधबार भत्काएर अतिक्रमण गरेको जग्गा तत्काल फिर्ता लिन सम्बन्धित सरकारी निकायकोसमेत ध्यानाकर्षण गराएका छन् ।

प्राप्त विवरणअनुसार साबिकको धापाखेल ८ ‘ख’ र ९ ‘ख’ मा पर्ने कित्ता नं. ४१, ३८ ७९ र ५८ मा रहेको २८ आना जग्गालाई सिजी प्रपर्टिज नामको कम्पनीले तारबार लगाएको थियो । सो कित्ता नम्बरहरु सबै सार्वजनिक भएको भन्दै स्थानीय बासिन्दाले सो बार भत्काएको बताएका छन् ।

अहिले यो ठाउँ ललितपुर महानगरपालिका वडा नं. २४ मा पर्दछ । गत बुधबार बिहान प्लटिङ स्थलमा भेला स्थानीयवासी र प्रदेश सांसद दिनेश महर्जनसहितको टोलीले सो जग्गामा लगाएको बारलाई हटाएका थिए । सो भेलाले स्थानीयवासीको सहमतिविना सार्वजनिक जग्गामा एकलौटी रुपमा बार लगाएको भन्दै भत्काउने निर्णय भएअनुसार भत्काइएको मखुण्डोल टोल सुधार समितिका सचिव वेदनाथ दाहालले बताए  छ ।
प्रदेश सांसद महर्जनले मिचिएको सार्वजनिक जग्गा फिर्ता ल्याउने भेलाले निर्णय गरेसँगै सार्वजनिक जग्गामा लगाएको बार स्थानीय बासिन्दाहरुबाट हटाई सार्वजनिक जग्गाको संरक्षण गरिएको बताए । सो वडा कार्यालयबाट सो जग्गा स्थानान्तरण गर्न नियमानुसार सिफारिस दिएको जनाएको छ ।

सो अवैध काममा वडा कार्यालयकै कर्मचारीको संलग्नतामा साबिकको सार्वनजिक जग्गाभन्दा तल गहिरो र खोँचमा भएको र सो को सट्टा सार्वजनिक जग्गा दिन लागेको भन्दै स्थानीय बासिन्दाहरुले निरन्तर विरोध गर्दै आएका थिए । सो कम्पनीले सो सार्वजनिक जग्गाको साटो काम नलाग्ने खाल्टो ठाउँमा सट्टा जग्गा दिन प्रक्रिया अघि बढाउँदै सीजी प्रपर्टिजले बार लगाएको थियो । सीजी प्रपर्टिजललाई फाइदा पुग्ने हिसाबले वडाध्यक्ष दिनेश कार्कीले २०७५ असार २२ गते जग्गा साट्न सिफारिस दिएको आरोपसमेत स्थानीय बासिन्दाहरुको छ ।

स्थानीय बासिन्दाले भने बाबु–बाजेले जोगाएर राखेको सार्वजनिक जग्गामा एउटा कम्पनीले चाइयो भन्दैमा वडा कार्यालयबाट गैरकानुनी तबरले कुनै पनि जग्गा दिन नमिल्लने भन्दै सो अतिक्रमण गरिएको जग्गा तत्काल फिर्ता लिन दबाबसमेत दिएका छन् । मखुण्डोल टोल सुधार समिति तथा स्थानीय बासिन्दाका अनुसार आनाको २५ लाख जाने राम्रो जग्गा चौधरी ग्रुपलाई दिएर दुई लाख जाने जग्गा लिन गाउँलेहरु कुनै पनि हालतमा तयार नहुनेसमेत जनाएको छ ।

स्थानीय बासिन्दाले भने, ‘हामी जनता अड्डा अदालत कतै जान सक्दैनौँ, उसले रकम दिएर कागजमा बनाउला तर, हामी फिल्डमा बनाउन दिँदैनौं, बनाएमा सधैँ भत्काइरहन्छौँ, स्थानीय बासिन्दासँग कुनै पनि कम्पनीले लोभ र धम्की नदिए हुन्छ, सार्वजनिक जग्गाको संरक्षण गर्ने जिम्मा स्थानीय बासिन्दाको पनि भएकाले लागिरहने छौँ ।’

यसरी अहिले देशभर सरकारी जग्गालाई गैरकानुनी तवरबाट व्यक्तिगत बनाएका धेरै खबरहरु आइरहेको समयमा सबैभन्दा बढी सरकारी जग्गा अतिक्रमण उपत्याकाभित्र नै रहेको पाइएको छ । विश्वको धनीका रुपमा नाम लेखाएका तथा संघीय संसद्का सांसदसमेत रहेका विनोद चौधरी अध्यक्ष रहेको चौधरी ग्रुपको भगिनी संस्था हो, सो सिजी प्रपर्टिज । सो कम्पनीले अहिले जग्गा प्लटिङ गर्ने काम गर्दै आएको छ ।

 

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!