ब्याजसहित विलम्ब शुल्क नतिरे इन्टर्नसिपमा फेल

- April 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ / काठमाडौं विश्वविद्यालय (केयू) ले एमबीबीएसलगायत चिकित्सा शिक्षा विषय पढ्ने विद्यार्थीसँग विलम्ब शुल्कमै चर्को ब्याज उठाउने गरेको छ । ब्याजसहित विलम्ब शुल्क नतिरे केयूले इन्टर्नसिपमा फेल गराइदिने गरेको विद्यार्थीको गुनासो छ ।

‘तोकेको शुल्क समयमा नबुझाए लेट फी लिइन्छ,’ केयूको मेडिकल कलेजमा अध्ययनरत एक विद्यार्थीले भने, ‘लेट फीमा पनि दैनिक ब्याज जोडेर रकम तिर्नुपर्छ ।’ केयूको सम्बन्धन प्राप्त कलेजले एउटै विद्यार्थीबाट ब्याजसहित १० लाखसम्म विलम्ब शुल्क असुलेको भेटिएको छ ।


केयूकै धुलिखेलस्थित स्कुल अफ मेडिकल साइन्सेसमा विलम्ब शुल्कमा दैनिक १५ प्रतिशतका दरले ब्याज जोडेर शैक्षिक शुल्क उठाउने गरिएको छ । त्यस कलेजमा विद्यार्थीबाट ब्याजसहित विलम्ब शुल्क साढे ७ लाखभन्दा बढी उठाएको पाइएको छ । विद्यार्थीका अनुसार स्कुल अफ साइन्सेसका म्यानेजर दीपक दाहालले ब्याजसहित विलम्ब शुल्क तिर्न बाध्य पार्ने गरेका छन् ।

सरकारले एमबीबीएस अध्ययनका लागि लाग्ने शुल्क ५० र २५/२५ प्रतिशतको दरले किस्ता प्रणालीमा बुझाउन सकिने प्रावधान बनाएको छ । किस्ता प्रणालीअनुसार रकम नबुझाए कलेजले विलम्ब शुल्क उठाउँछ र त्यसमा पनि ब्याज जोडिन्छ । महिना मरेपछि ब्याज रकममा पनि ब्याज जोडिन्छ । ब्याजसहितको रकम नबुझाए म्यानेजर दाहालले धम्क्याउने र अनेक अप्ठ्यारोमा पार्ने गरेको विद्यार्थी गुनासो गर्छन् । उनकै सिफारिसमा विश्वविद्यालयले फेल गराउने गरेको विद्यार्थीको भनाइ छ । ‘एसएलसीदेखि सबै कक्षाका शैक्षिक प्रमाणपत्र उत्कृष्ट छन् । एमबीबीएसमा पनि राम्रो नम्बर छ,’ स्रोतले भन्यो, ‘तर ब्याज सहित विलम्ब शुल्क नबुझाउँदा इन्टर्नसिप राम्रो नगरेको आरोपमा फेल गरिएको छ ।’

शुल्कका नाममा विश्वविद्यायल र मेडिकल कलेजहरूले विद्यार्थीको भविष्यमा खेलबाड गर्ने गरेको विद्यार्थी गुनासो गर्छन् । डिन कार्यालयलाई यस विषयमा पटकपटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको विद्यार्थीले बताए । सरकारले निर्धारित शुल्क पहिलो किस्ता भर्ना र दोस्रो र तेस्रो किस्ता क्रमशः दोस्रो र तेस्रो वर्षको भर्नाको समयमा बुझाउनुपर्ने विधि बनाएको छ । कान्तिपुर दैनिकबाट ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!