प्रधानमन्त्रीको नाम दुरुपयोग गरेर मलेसियाको रोजगारी जालझेल

- March 25, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नाम दुरुपयोग गरेर मलेसियाको रोजगारीमा जालझेल गरेर विगत १० महिनादेखि मलेसियाको कामदार पठाउने प्रक्रिया बन्द गरिएको छ । नेपालीहरुका लागि वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्यमध्येको एक मुलुक मलेसियामा कामदार पठाउन अघोषित प्रतिबन्ध लगाएर चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीतर्फ नेपाली युवाको आकर्षण कम भएको निष्कर्ष निकालिएको छ । श्रम मन्त्रालयले गत जेठ ३ गतेदेखि मलेसिया कामदार पठाउने प्रक्रिया रोकेको छ । रोकिएको कामदार पठाउने प्रक्रिया खुलाउन गत कात्तिक १२ गते नेपाल र मलेसियाका श्रममन्त्रीले एमओयूमा हस्ताक्षर गरे पनि अझै कामदार पठाउने प्रक्रिया सुरु भएको छैन ।

मलेसियाका लागि नेपाली राजदूत बनेर गएका उदयराज पाण्डेले आफ्नो ओहोदाको प्रमाण पेस गरेर काम थालिसकेका छन् तर उनी मलेसिया पुगिसकेपछि अमेरिका उड्नुअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका दोस्रो वरियताका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनपछि मात्रै मलेसियाको रोजगारी खुल्ने कथनले विषयवस्तु झनै गम्भीर र पेचिलो रहेको सङ्केत गरेको छ । मलेसिया जाने कामदारलाई ओएससीले ठाडै ठगी गरेको आरोप लगाएर श्रम मन्त्रालयले भीएलएन नेपालका सञ्चालक राम श्रेष्ठलाई प्रहरी लगाएर पक्राउ गरेको थियो । तर त्यही ओएससीअन्तर्गतको दुई हजार आठ सय रुपैयाँ लिएर फिङगर प्रिन्ट जाँच्ने पीएसजी नामको कम्पनी चलाएर बसेका अर्का व्यवसायी गोविन्द थपलियालाई श्रेष्ठलाई पक्राउ गर्नुअघि प्रहरीले दुई घण्टा सोधपुछ गरेर छाडेको थियो ।

त्यही मुद्दामा श्रेष्ठलाई ३२ दिन थुनामा राखियो तर थपलिया एक घण्टा पनि प्रहरी हिरासतमा रहनु परेन । त्यसको कारण केलाउँदै जाँदा र मलेसिया कामदार पठाउने प्रक्रिया सुरु नहुनुको प्रमुख कारण गोविन्द थपलिया पनि एक भएको पाइएको छ । उनी एउटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको साझेदार रहेको पाइएको छ । कमिसन दलाली गर्ने उद्देश्यले खोलिएको हेभन्ली कक्सल्ट प्रालिको सेयर होल्डरमा गोविन्द थपलियासँग राजेश बज्राचार्यलगायतका व्यक्तिहरु रहेको पाइएको छ । त्यही कारण थपलियाले उक्त काण्डमा कारबाही भोग्नु नपरेको पाइएको छ ।

प्रधानमन्त्री ओलीको पीए बज्राचार्यको संरक्षण पाएर थपलियाले कारबाही खेप्नु नपरेपछि प्रधानमन्त्रीकै नाम दुरुपयोग गरेर पुजा चन्द, दीपेश पुन र रघु पुरीले यही बाहनामा ओएससीको जिम्मेवारी आफ्नो हातमा नआएसम्म मलेसिया कामदार पठाउने प्रक्रिया खोल्न नदिन उक्साइरहेका छन् । सत्ताधारीलाई सपना देखाएर त्यसबाट हुने फाइदा आफैँ उठाइरहेका छन् । नेपालबाट मलेसिया कामदार पठाउने प्रक्रिया रोकिएपछि बंगलादेशबाट त्यहाँ कामदार पठाउने कोटा बढ्ने गरेको छ ।

मलेसियन सत्ताधारीसँग निकट रहेको बंगलादेशी हमीरले नेपालबाट कामदार पठाउन रोक्ने निर्णय गर्दा वा कामदार नपठाउँदा हमीरले नेपाली सत्ताका आसेपासे बिचौलियालाई ठोस रकम सलामी दिने गरेको छ । प्रधानमन्त्री ओलीलाई असफल देखाएर त्यो सलामी कसले खाइरहेको छ रु त्यो सर्वत्र चासोको विषय बनेको छ । सुरुदेखि नै मलेसियाले एउटै अडान राख्दै आएको छ । त्यही अडानअनुसार एमओयूमा मन्त्रीस्तरीय हस्ताक्षर भइसकेको छ । बेरोजगार युवा कामको खोजिमा भौंतारिरहेका छन् तर प्रमुख गन्तव्य मलेसिया कुन स्वार्थले खुलेको छैन भन्ने विषयचाहिँ अझै रहस्यकै गर्भमा रहेको छ । (आर्थिक दैनिकबाट साभार)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!