अधिकारीको निधनमा गण्डकीका सबै जिल्लामा शोकसभा गरिने

- February 28, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

कास्की, ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी बुधबार निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शुक्रबार यहाँस्थित रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

अन्त्येष्टिअघि अधिकारीको शवलाई सम्मानका लागि बिहान नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राखिने र त्यसपछि नयाँबजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक हुँदै रामघाटसम्म शवयात्रा गरी अन्त्येष्टि गरिने नेकपाका केन्द्रीय सदस्य राजकाजी गुरुङले जानकारी दिनुभयो । 

सरकारले स्व अधिकारीकोे राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय हिजो नै गरिसकेको छ । नेता गुरुङका अनुसार अधिकारीको अन्त्येष्टिमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, दलका नेतालगायत उच्चपदस्थ व्यक्तिहरुको सहभागिता रहनेछ । 

नेकपा प्रदेश कार्यालयको आयोजनामा आज बिहान शान्तिवनवाटिकास्थित जिल्ला पार्टी कार्यालयमा बसेको प्रदेश कार्यालय, उपलब्ध केन्द्रीय तथा प्रदेश सदस्य र कास्की पार्टी संयन्त्र सदस्यहरुको बैठकले मन्त्री अधिकारीको अन्त्येष्टिका लागि पार्टीको आन्तरिक व्यवस्थापन प्रदेश सरकारको समन्वयमा जिल्ला पार्टी कार्यालयले गर्ने निर्णय गरेको छ । 

त्यस्तै बैठकले फागुन १९ गते आइतबार गण्डकी प्रदेशका सबै जिल्लामा शोकसभा गर्ने र तीन दिन पार्टी कार्यालयको झण्डा आधा झुकाउने निर्णय गरेको गुरुङले बताउनुभयो । 

आज साँझसम्म मन्त्री अधिकारीको शवलाई गृह जिल्ला पोखरा ल्याउने तयारी गरिएको छ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!