काठमाडौँमा सार्कस्तरीय सांस्कृतिक महोत्सव हुने

- December 10, 2018 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ,  दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनका (सार्क) मुलुकबीच आपसमा संस्कृति आदान–प्रदान गरी जनस्तरको सम्बन्धलाई मजबुत बनाउन काठमाडौँमा सार्कस्तरीय सांस्कृतिक महोत्सव एवम् परम्परागत नृत्य आयोजना हुने भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आतिथ्यता तथा सार्क सांस्कृतिक केन्द्र (सार्क कल्चरल सेन्टर) श्रीलङ्का मुख्य आयोजक रहेको प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सका कलाकारको सहभागिता रहने पर्यटन मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । मङ्सिर २५ देखि २८ गतेसम्म सञ्चालन हुने महोत्सवमा सम्बन्धित मुलुकका ४७ कलाकारले कला र संस्कृति झल्कने परम्परागत नृत्य, गीत–सङ्गीत प्रस्तुत गर्नेछन् । नेपालबाट १५, श्रीलङ्काका ११, माल्दिभ्सका १०, बङ्गलादेशका सात र भारतका ६ गरी ४७ कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । 

पर्यटन मन्त्रालयका सहसचिव भरतमणि सुवेदीले सार्क मुलुकबीच संस्कृतिको माध्यमबाट जनस्तरको सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको बताउनुभयो । केन्द्रका उपनिर्देशक किसानी जयसिङघे विजेसिकराले क्षेत्रीयस्तरको कला र संस्कृतिको माध्यमबाट जनस्तरको सम्बन्धलाई थप प्रगाढ तुल्याउन महोत्सव उपयोगी हुने बताउनुभयो । 

सार्कका पाँच क्षेत्रीय केन्द्रमध्ये कोलम्बोको सांस्कृतिक केन्द्रले संस्कृति प्रवद्र्धनको काम गर्दै आएको छ । केन्द्रले संस्कृति, पुरातत्व, ललितकला, गीत, नाटक र नृत्यजस्ता कार्यक्रम गर्ने गर्छ । सन् २००९ मा स्थापना भएको यो संस्थाले सांस्कृतिकरुपमा सार्क मुलुकबीचको जनस्तरको सम्बन्धलाई स्थापित गर्न सहयोग पुग्ने सहसचिव सुवेदीको भनाइ थियो । गत वर्ष चित्रकलासम्बन्धी काठमाडौँमा महोत्सव भएको थियो । अन्तरदेशीय कला र संस्कृतिको आदानप्रदानसाथै सीप, ज्ञान र दक्षता अभिवृद्धि गर्न महोत्सव फलदायी हुने बताइएको छ । महोत्सवमा परम्परागत लोकनृत्यबारे विज्ञहरु सम्मिलित कार्यशाला, विश्व सम्पदा क्षेत्रको अवलोकन र सांस्कृतिक कार्यक्रम गरिने बताइएको छ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!