द्वन्द्वपीडितले पीडा र सङ्घर्षका अनुभव सुनाउने

- November 30, 2018 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ,   द्वन्द्वपीडित साझा चौतारीले द्वन्द्वपीडितका पीडा र सङ्घर्षका अनुभव सुनाउन तीन जिल्लामा विशेष कार्यक्रम गर्ने भएको छ ।

चौतारीले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी यही मङ्सिर १७ सिरहा, २६ कैलाली र आगामी पुस २ गते कास्कीमा पीडितका पीडा सुनाउने कार्यक्रम गर्ने भएको हो । चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले आफ्ना पीडालाई खुलेर राखी मन हलुका पार्न, सङ्घर्ष, भोगाइ, अनुभव, पारिवारिक अवस्था, दुई आयोगप्रतिको धारणा बुझ्न विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो ।

सिरहा र कास्कीमा हत्या गरिएका, बेपत्ता पारिएका, याताना पीडित, महिला तथा पुरुष दुवैबाट अनुभव सुन्ने कार्यक्रम रहेको छ भने कैलालीमा यौनहिंसामा परेका महिला र महिलाले भोग्नु परेका पीडाका विषयमा पीडितसँग मात्र अनुभव सुन्ने कार्यक्रम रहेको छ । नेपालको १० वर्षे सशस्त्र द्वन्द्व (२०५२—२०६३) मा हत्या, बलपूर्वक बेपत्ता, यातना, बलात्कार, यौनजन्य हिंसा र क्रूर, अमानवीय तथा अपमानजनक व्यवहारबाट निःशस्त्र नागरिक पीडित भएका थिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!